कालो झण्डा
एउटा कालो झण्डा किनिदेउ मेरो लागी
कात्रो बनाउँछु म
उनिहरुको दिएको पिडामा जलेको
मेरो स्वाभिमानलाई ओढाएर
सपनाहरु कुण्ठा बोकेर
मलामी हिँडेको बेला
कहाँ हराईरहेछन् ?
उज्यालो खोज्न गएका ६०१ जना
अझै फर्किएनन् ।
यो अध्याँरोमा जलाएर सारा तृष्णाहरु
कहिले सम्म पर्खिरहने उनिहरुको उज्यालो
अध्याँरो जस्तै कालो झण्डा बोकेर
को उभिन्छ यहाँ उनिहरुलाई स्वागत गर्न ?
डुङ्गडुङ्ग गन्हाएको यो पुरानो लासलाई
मेरै आँगनमा छोडेर
वेपत्ता भएका ६०१ लाई कसले भनिदिने ?
पसिनाको रङ्ग, रगतको रङ्ग, उज्यालाको रङ्ग कालॊ कहिले हुन्न !
त्यसैले कालो दुई अक्षरको माईलस्टोन
मेरो निधारमा लेख्न छोडेर संविधान
उनिहरु अझै फर्किएनन्
एउटा कालो झण्डा किनिदेउ
उनिहरुलाई दिनुछ
फर्किए भने कुनै दिन
उनिहरुले दिएको कालो अध्याँरो सँग साट्नुछ
मेरो कालो झण्डा ।
जेष्ठ १४ २०६८ ललितपुर लगनखेल
